सर्वनाम थिएटरमा नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ मञ्चन

मनोरञ्जन

काठमाडौं । काठमाडौको कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ मञ्चन भइरहेको छ। साहित्यकार तथा रङ्गकर्मी अशेष मल्लको लेखन रहेको नाटक सर्वनामको १९ औं ब्याचका विद्यार्थीले प्रस्तुत गरेका हुन्‌ । ब्याचका प्रशिक्षार्थीद्वय रसिक राज र शीतल थोकरको निर्देशन रहेको छ । रङ्गमञ्चमा समूहको यो पहिलो नाट्य यात्रा हो ।

महिला तथा बालबालिकामा हुने हिंसाको विषयमा केन्द्रीत रहेको नाटकले आँखै अगाडि हिंसा हुँदा पनि चुपचाप रहने समाजको प्रवृत्तिमाथि व्यङ्ग्य गरेको छ । मिथकीय पात्र गोमालाई प्रतिनिधि पात्रका रूपमा उतारेर समाजमा अनगिनत महिला तथा बालबालिका हिंसाको सिकार बन्नु परेको तितो सत्यबारे नाटक बोलेको छ ।

कथाको लयसँग दृश्यहरुमा अभिनयमा निकै बलियो रुपमा उपस्थिति जनाएको छ। अभिनय, बिम्ब, प्रयुक्त प्रप्स, प्रकाश, चित्रकला र संगीतको निकै सशक्त प्रस्तुति देख्न सकिन्छ ।

yakshakhabar.com

नाटकभित्र मिथक र समकालीन समयको संयोजन छ । श्री स्वस्थानी व्रत कथामा सात वर्षिया गोमाको विवाह ७० वर्षीय वृद्धसँग भएको प्रसङ्गलाई लिएर आजको समयसँग यसको लेखाजोखा गरिएको छ । वर्तमानलाई मिथकसँग जोडिरहन सूत्रधार (रसिक राज) मार्फत गरिएको संवादले दर्शक दुवै समयप्रति सचेत बनिरहन्छन् । ‘गोमा कहाँ छिन् ?’ भनेर प्रश्न गर्दै गर्दा गोमालाई इंगित गदै आम दर्शकतिर गरिएको इशाराले सिङ्गो समाजलाई प्रतिनिधित्व गरिएको छ ।

नाटक हेरेर सामाजिक सञ्जालमा मिसन अधिकारी लेख्छन्, ‘यो नाटकले गम्भीर दर्शकको माग गर्दछ १ नाटक हेरिरहँदा कतै ऐनामा आफ्नै अनुहार त आउँदैन भन्ने भय दर्शकमा पैदा हुन्छ । मनोरञ्जनको लागि मात्र नभएर आफ्नै परिवार, आफ्नै समाजको अँध्यारो पक्षसित परिचित हुन नाटकले अपिल गर्छ । आफैसित संवाद गर्नलाई हेर्ने हो यो नाटक । ‘

नाटकमा सान्सिक प्रोडक्सनको सगीत, निर्मला घिसिङको स्वर, एलिसा तामाङको कोरियोग्राफी र मनोज भण्डारी, सुरज, रसिक तथा शीतलको गीत रहेको छ ।

पुस ८ गतेबाट मञ्चन भइरहेको नाटकले दर्शकहरूबाट समेत राम्रो साथ पाइरहेको छ । नाटकमा रसिक राज, शीतल थोकर, सुरज पराजुली, आकाश झा, वाइ.एस पौडेल,‌ बिल बहादुर वि.क., सुरज अधिकारी, सरस्वती दाहाल, आरुष जंग सारू मगर, शू गूँ, एलिसा तामाङ, युनिशा खनाल र विवेक भुसालको अभिनय रहेको छ ।

नाटकले अन्याय विरुद्ध गर्जिनुपर्छ र स्व–अस्तित्वको लडाइँ लड्नुपर्छ भन्ने सन्देश छोडेको छ । चित्रकला, गीत संगीत र नृत्यको कुशल संयोजन रहेको नाटक पुस १५ गतेसम्म बिहीबार बाहेक हरेक साँझ ५ बजे र शनिबार दिउँसो १ बजे पनि मञ्चन हुनेछ ।

yakshakhabar.com
Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *