एजेन्सी । पछिल्लो समय कपाल झर्न रोकथाम र कपाल बढ्नका लागि प्याजको रस निकै लोकप्रिय भएको छ ।
सामाजिक सञ्जालबाट प्रभावकारी भएर र भ्लगरहरूको प्रचारका कारण कपालका लागि प्याजको रसको प्रयोग घर घरमा बढेको छ। वास्तवमा प्याजको रसमा धेरै मात्रामा सल्फर पाइन्छ । सल्फरले टाउकोको रक्तसञ्चार सुधार गर्छ। यसले नयाँ कपाल बढ्न मद्दत गर्छ र कपाल बाक्लो पनि हुने गर्दछ ।तर यसको प्रयोग चिकित्सक वा विज्ञको सुझावमा मात्रै गर्नुपर्छ ।
सल्फर बाहेक प्याजमा फोलिक एसिड, भिटामिन सी, पोटासियम र प्रोटिन जस्ता तत्वहरू पाइन्छ, जुन कपालको लागि धेरै राम्रो हुन्छ। यसको व्यापक प्रचार र हरेक घरघरमा सहज उपलब्धताका कारण कपाल हेरचाहमा प्याज प्रयोग गर्ने चलन झनै बढेको छ । छाला विशेषज्ञका अनुसार कपाल केराटिन (एक प्रकारको प्रोटिन) बाट बनेको हुन्छ जसमा सल्फर हुन्छ। प्याजको रसमा प्रशस्त मात्रामा सल्फर हुन्छ । जब यो कपाल र टाउकोमा पुग्छ, यसले कपाललाई बलियो र बाक्लो बनाउन थप सल्फर प्रदान गर्दछ । सल्फरले कपाल झर्न रोक्ने र कपालको बृद्धि गर्न सहयोग पुर्याउँछ ।

चिकित्सकहरुका अनुसार कपालको पुनरुत्थानको लागि प्याजको रसको प्रयोग व्यापक रूपमा गरिएको छैन । तर, एक अध्ययनका अनुसार प्याजको रस दिनको दुई पटक टाउकोमा लगाउनाले कपाल पुनः बढ्न मद्दत गर्दछ । कपाल झर्नु सामान्यतया टेलोजन इफ्लुभियम वा एन्ड्रोजेनेटिक एलोपेसियाको कारणले हुन्छ। तर, यस प्रकारको कपाल झर्ने ढाँचामा प्याज कत्तिको प्रभावकारी छ ? यसबारे हालसम्म कुनै अनुसन्धान भएको छैन ।
यससँगै शरीरको घाउ निको पार्न प्याजको रसमा बृहत अनुसन्धान भइरहेको छ । दुई साताभित्र जुनसुकै ठुलो वा सानो घाउमा प्याजको रस लगाउनाले घाउ निको हुने र दाग छिट्टै निको हुने दाबी पनि प्याजको अनुसन्धानमा लागेका कतिपयको भनाई छ ।
तर विशेषज्ञसँग परामर्श नगरी प्याजको रसलाई सिधै टाउकामो प्रयोग नगर्न चिकित्सकहरुको सुझाव छ । किनकी प्याजको रस लगाएपछि टाउकोमा चिलाउने देखि डर्मेटाइटिस (छालाको रोग जसमा छाला रातो र सुन्निन्छ) सम्मका लक्षणहरू देखा पर्ने हुन्छन् । साथै प्याजको रसले छाला र आँखालाई पोल्ले हुन सक्छ । प्याजको रसले पहिल्यै कुनै पनि एलर्जीबाट पीडित मानिसहरूलाई असर गर्न सक्छ।
प्याजको रस प्रयोग गर्नेले अनिवार्य रुपमा चिकित्सक वा विज्ञको सल्लाह लिन भने आवश्यक छ । जथाभावी प्याजको प्रयोगले विभिन्न समस्या निम्त्याउन सक्ने पनि विज्ञहरुको भनाई छ ।