काठमाडौं । आज (मंगलबार) पनि मान्यजनका हातबाट दशैंको टीका र जमरा लगाइँदैछ ।
दशैंको टीकाको आज पनि मान्यजनबाट टीका थापेर आशीर्वाद लिने क्रम जारी छ । कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्मै पनि टीका लगाउने चलन छ भने कतिपय स्थानमा टीकाको मूल दिन मात्र टीका लगाउने गरिन्छ ।
विजयादशमीमा टीका लगाउन नभ्याएका तथा टाढा रहेका आफन्त तथा मान्यजन कहाँ आज दोस्रो दिन पनि टीका लगाइँदैछ ।

आजको दिन पनि घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दुर्गालाई चढाई मान्यजनको हातबाट टीका, जमरा तथा आशीर्वाद लिने चलन पुरानै हो । टाढा रहेका बन्धु, मावली, बुढामावली र ससुरालीलगायत नातासम्बन्धका मान्यजनसँग टीका लगाउन जाने चलन छ । यो क्रम पूर्णिमासम्म रहन्छ ।
बडादशैं मनाउन गाउँघर गएकाहरु काठमाडौंलगायतका सहरी क्षेत्रमा पुनः फर्किन थालेका छन् ।