काठमाडौं । आज (शनिबार) बडादशैंको मुख्य दिन अर्थात् विजया दशमी । आज नेपालीहरुको महान् चाड बडादशैं, आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदैछ । दशैंको टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
टीका लगाउनुअघि आज बिहान ८ बजेट ३३ मिनेटमा देवी विसर्जन गर्नुपर्छ । विजयादशमीका दिन बिहान नवदुर्गाको फेरि पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिता गरी चार देवीको पूजा गरेर देवी विसर्जन गरिन्छ ।
घटस्थापनाको दिनदेखि विधिपूर्वक घरघरमा आह्वान गरी पूजाआराधना गरिने दुर्गादेवीलाई आजकै दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिन्छ । पूजाकोठा तथा दशैंघरमा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवीपूजा विसर्जन गरी निकालिएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट श्री नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाई आशीर्वाद थापिन्छ ।
किम्बदन्तीअनुसार दशमीकै दिन दुर्गा भवानीले दानवी शक्तिमाथि तथा रामले रावणमाथि विजय हासिल गरेका थिए । सत्यले असत्यमाथि विजय पाएका कारण यस दिनलाई विजया दशमी भनिन्छ ।
टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । आजदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसादका रूपमा मान्यजनका हातबाट टीका, जमरा तथा आशीर्वाद थाप्ने क्रम जारी रहनेछ।