काठमाडौं । महान् पर्व बडा दशैंको सातौं दिन बुधबार देवी दुर्गा भवानीको छैटौं रुप देवी कात्यायनीको पूजाआजा गरिंदै छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल षष्टी अर्थात् दुर्गा पक्षको छैटौं दिन देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।
दिनका हिसाबले बुधबार नवदुर्गामध्येकी कालरात्रि देवीको आराधना गरिनुपर्ने हो । तर नेपालमा तिथिमिति र चाडपर्व निर्धारण गर्ने पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यो वर्ष नवरात्रमा चतुर्थी तिथि दुई दिन परेका कारण बुधबार षष्ठी तिथिमा गर्ने कर्म गर्न लागिएको हो ।
पञ्चाङ्ग (पात्रो) का अनुसार बुधबार षष्ठी तिथि ३ घडी ५१ पला मात्र षष्ठी छ । अर्थात् बिहान ७ बजेर ३३ मिनेटपछि सप्तमी तिथि लाग्छ । सूर्योदय हुँदाको तिथि लिनुपर्ने मान्यताअनुरूप बुधबार षष्ठीकै कर्म गर्नुपर्ने समितिले जनाएको छ ।
कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ ।
माता कात्यायनीलाई साहसको प्रतीक मानिन्छ । यज्ञयज्ञादि दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ ।
पुराणअनुसार कात्यायनको ऋषिको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई पुत्रीको रूपमा जन्म लिने वचन दिएकी थिइन् । महिषासुर नामक दैत्यको विनाशका लागि ब्रह्मा, विष्णु र महेश्वरको अंशबाट देवी उत्पन्न भइन् ।
यिनै कात्यायन ऋषिद्वारा पुजित भएकीले यिनको नाम कात्यायनी भएको हो । सिंहवाहिनी कात्यायनीले महिषासुरको वध गरेको दुर्गा सप्तशतीमा आउँछ । चार हातमध्ये दुई हातमा तरवार, कमल पुष्प लिएकी र दुई हातले अभय र वरद मुद्रा प्रदर्शन गरेकी छिन्। यिनको आराधनाबाट सम्पूर्ण संकट नाश हुने विश्वास गरिन्छ ।
नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।
नवरात्रभर देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्न भक्तजनको घुइँचो लाग्ने गर्छ ।