भक्तपुर । दशैंमा धेरै नेपालीहरुको घरमा खसी काट्ने चलन भए पनि भक्तपुरका नेवार समुदायमा भने खसीभन्दा राँगा बढी काटिने चलन छ । त्यसैले दशैंका लागि भक्तपुरमा यस वर्ष सयौंका संख्यामा राँगाहरु भित्रिएका छन् ।
नेवार समुदायमा फूलपातीको दिन यहाँका घर–घरमा राँगाको मासु भित्र्याउन टोल–टोलबाट, गुठीहरूबाट राँगा किनेर लग्ने परम्परा रहेको छ । मासुको पर्वका रूपमा रहेको दशैंमा यहाँका घर–घरमा राँगाको मासु भित्र्याउनुपर्ने चलन छ । भक्तपुरमा बेच्नेहरूको पनि हुल बढेको छ । त्यहाँ २÷३ दिन अगाडिबाट नै सयौं राँगा बिक्रीका लागि राखिएका थिए ।
स्थानीय टोलवासी र गुठीयारहरूले सामूहिक रूपमा राँगा किनेर लाने गरिन्छ । अनि त्यही राँगालाई फूलपातीका दिन समूहले नै वध गरी भाग लगाइन्छ र भागअनुसारको पैसा तिरेर घर–घरमा मासु भित्र्याइन्छ । अरूबेला मासु पसलहरूबाट किनेर ल्याउने गरे पनि दशैं, तिहार, बिस्केट जात्रालगायतका पर्वहरूमा यहाँ यसरी नै सामूहिक रूपमा सबै मिलेर राँगा काटेर भाग लगाएर मासु खाने गरिन्छ ।

भक्तपुरमा विगतका वर्षहरुमा एक हजारदेखि १५ सय सम्म राँगो आउने गर्दथ्यो । तर यो वर्ष बाढी पहिरोका कारण बढी राँगाहरु भित्रन नसकेको व्यापारीहरु बताउँछन् ।
विगतका वर्षहरुमा यहाँका मानिसहरूले राँगाकै मात्रै मासु खाने गरेको र पसलबाट नकिनी यहींबाट सिंगो जिउँदो राँगो लग्ने गरेको भएकाले बढी बिक्री हुने गरेको व्यापारीहरुको अनुभव छ । तर पछिल्ला वर्षहरुमा धेरैले सामूहिक रूपमा राँगा काटन छोडेर पसलबाट किनेर ल्याउने र राँगोभन्दा कुखुरा, खसीबोकाको मासु खान थालेकोले राँगाको बिक्रीमा कमी आएको उनीहरु बताउँछन् ।
भक्तपुरमा खपत हुने राँगा पूर्वी जिल्ला काभ्रे, रामेछाप, र पश्चिम तराईका जिल्ला तथा भारतबाट समेत आउँछन् । भक्तपुरको हनुमानघाटस्थित महेश्वरी खेल मैदान वरपरको चौरमा यस वर्ष प्रति राँगा न्युनतम ३० हजारदेखि एक लाख २० हजार रुपैयाँ सम्मको रहेको उनीहरुले बताएका छन् । यसैगरी, आज जिल्लाको बिभिन्न ठाउँबाट राँगा किन आउनेको भिड थियो ।
राँगालाई महिषासुर दैत्यको रुपमा लिइने भएकाले मन्दिरहरुमा पनि राँगाकै बलि दिइन्छ । अझ फूलपातीदेखि नवमीसम्म विभिन्न गुठी समूहहरुले टोल–टोलमा राँगाको बलि दिने परम्परा रहेकाले भक्तपुरमा बढी राँगा खपत हुने गरेको छ ।
त्यस्तै, नवमीका दिन नवदुर्गा मन्दिरमा राखेका खँमे जात्रा अर्थात् राँगो जात्रा गरी ब्रम्हायणी मन्दिर लगेर नवदुर्गा गणले राँगो बलि दिने चलन छ ।
