आज स्कन्दमाताको पूजा आराधना गरिँदै

समाचार

काठमाडौं । आश्विन शुक्ल पञ्चमी अर्थात् महान् पर्व बडा दशैंको छैटौं दिन आज (मंगलबार) दशैं घर वा पूजा कोठामा दुर्गा भवानीकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

यो वर्षको बडादशैँमा चतुर्थी दुईदिन परेकाले मंगलबार पञ्चमीमा गरिने कर्म गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । मंगलबार २ घडी ५३ पला अर्थात् बिहान ७ बजेर १० मिनेटसम्म मात्र पञ्चमी तिथि छ । त्यसपछि षष्ठी लाग्छ ।

हिन्दूहरुमा स्कन्दमाताको पूजा आराधना गरे सन्तान सुख पाइने विश्वास रहँदै आएको छ ।

yakshakhabar.com

नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमाताको नामबाट चिन्ने गरिएको छ । भगवान् कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए । त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको हो । स्कन्दमाता यस्ती दैवी शक्ति हुन् जसले व्यवहारिक ज्ञानलाई कर्ममा बदल्नको लागि प्रेरणा दिने गर्दछिन् ।

नवरात्रभरि महाकाली–महालक्ष्मी–महासरस्वतीरुपिणी शक्तिस्वरुपा भगवतीको आराधना गर्ने परम्परा छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

नवरात्रभर देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्न भक्तजनको घुइँचो लाग्ने गर्छ ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *