काठमाडौं । भारतीय गायक सोनु निगमले आगामी डिसेम्बर २५ अर्थात् पुस १० मा काठमाडौंमा सांगीतिक प्रस्तुति दिने भएका छन् । नेपाली टच नेपालले आइतबार एक कार्यक्रमका बीच डिसेम्बर २५ मा ‘सोनु निगम लाइभ इन नेपाल’हुने जानकारी दिएको हो ।
नेपाली टचले विगत १५ वर्षदेखि अस्ट्रेलियामा विभिन्न इभेन्ट गर्दै आइरहेकोमा नेपालमा पहिलो पटक सांगीतिक कार्यक्रम गर्न लागेको हो ।
कार्यक्रममा नेपाली टच नेपालका प्रमुख राजकुमार गोस्वामीले अस्ट्रेलियामा कार्यक्रम गर्दै आएकोमा नेपालमा पनि सोही अनुसार कार्यक्रम गर्ने योजनाअनुसार सांगीतिक कार्यक्रम गर्न लागिएको जानकारी दिए ।
‘हामीले अष्ट्रेलियामा विगत १४–१५ वर्षदेखि कार्यक्रम गर्दै आएका छौं । आफ्नै देशमा कार्यक्रम आयोजना गर्न खोज्नुभएको छ, उनले भने, ‘हामीले अन्तर्राष्ट्रिय कलाकारलाई नेपालमा ल्याउने माध्यम बनाएका छौँ रु बलिउडलाई यहाँको कला र संस्कृतिसँग जोड्ने यो एउटा महत्त्वपूर्ण माध्यम हुनेछ। यसबाट नेपाली पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरेका छौं ।’
गोस्वामीले क्रिसमस कार्यक्रमका लागि आजबाट टिकट बिक्री सुरु गर्ने घोषणा पनि गरेका छन् । कार्यक्रममा सहभागी हुन चाहनेहरूले कार्यक्रमको आधिकारिक टिकट विक्रेताहरू मार्फत टिकट खरिद गर्न सक्नेछन् ।
कार्यक्रमका लागि चार प्रकारका टिकटको व्यवस्था गरिएको छ । सबैभन्दा सस्तो भाडा फेस्टिभल जनरल टिकटको लागि २ हजार, फेस्टिभल प्लाटिनमको ४ हजार, फेस्टिभल भिआईपी सिटिङका लागि १० हजार र फेस्टिभल भिआईपी टुरको ५० हजार रुपैयाँ तोकिएको छ । प्लेटिनम टिकट अनुसार सिटिंग टिकट खरिद गर्ने सबै टिकट खरिदकर्ताले एउटा खाना र पेय पदार्थ निःशुल्क पाउनेछन् ।