भक्तपुर । भक्तपुरको सल्लाघारीमा दशैंका लागि च्याङ्ग्रा, बोका, खसीको बिक्री सुरु भएको छ । दशैंका लागि मात्रै बजार लाग्ने भक्तपुरको सल्लाघारीस्थित ९९ रोपनी चौरमा भक्तपुर, काठमाडौं काभ्रेपलाञ्चोकदेखिका उपभोक्ताहरु च्याङ्ग्रा, बोका, खसी खरीद गर्न आउने गरेपछि बिक्री सुरु भएको हो ।
दशैंका समयमा बलि दिनका लागि र दशैंका लागि आवश्यक मासु, बोका, खसी च्याङ्ग्रा लिन यस स्थानमा मानिसहरु आउने गर्दछन् ।
व्यापारी ज्ञानकुमार श्रेष्ठले आफूहरुले मुस्ताङको च्याङ्ग्रा बेनीबाट काठमाडौं ल्याएको बताए । आफूसँग मुस्ताङ र डोल्पा र चिनीयाँबाट ल्याएको च्याङ्ग्रा रहेको उनले जानकारी दिए । गत वर्षको तुलनामा यस वर्ष च्याङ्ग्राको मूल्य घटेको छ । गत वर्ष जिउँदो च्याङ्ग्रा प्रति किलो रु. १४ सय रहेको र तयारी मासुको रु. २६ सय थियो भने यसवर्ष जिउँदोको प्रतिकिलो रु. १२ सय र तयारी मासुको रु. २४ सय रहेको छ ।

बाढीपहिरोको कहरमा गर्दा यस वर्ष भने जति च्याङ्ग्रा ल्याउन नसकिएको उनले बताए ।
यस्तै, बाढी पहिराले बाटो अवरोध गरेका कारण यस वर्ष खसीबोकाको मूल्य केही बढेको व्यापारी राम थापाले बताए । उनले जिउँदो खसी रु. ६८० देखि ७१० सम्म र बोका रु. ६८० सम्म बिक्री गरिरहेको बताए ।
दशैंमा ठुलो सङ्ख्यामा खसीबोकाको खपत हुने हुँदा व्यवसायीले विभिन्न जिल्लाबाट खसीबोका खरिद गरी भक्तपुरको सल्लाघारीमा ल्याएर बिक्री गर्ने गर्छन् ।