भक्तपुर । संघीय सांसद दुलर्भ थापाले सूर्यविनायक नगरपालिका-८ सिपाडोल क्षेत्रमा अविरल वर्षापछि आएको बाढी तथा पहिरोले पुर्याएको क्षतिबारे स्थलगत अवलोकन गरेका छन् । गत बिहीबारदेखि शनिबारसम्म लगातार परेको वर्षाका कारण आएको बाढी पहिरोले पुर्याएको क्षतिको अवस्थाबारे जानकारी लिन उनी बुधबार ती क्षेत्रको स्थलगत अवलोकनमा आएका हुन् ।
निरीक्षणको क्रममा स्थानीय जनताले पहिरोबाट आफूहरुको घरबस्ती जोखिममा परेकोले समाधानको लागि सम्बन्धित निकायमा राखीदिन अनुरोध गरेका थिए ।
सांसद थापाले पहिरो पीडित जनताको राहत र पुनःस्थापनाको लागि जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रजिअमार्फत सरकारको ध्यानाकर्षण गराउने बताए । उनले देश बाढी पहिरोको चपेटामा परेका बेला सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोगी भूमिका खेल्न समेत आग्रह गरे । विपदका समयमा भैपरि आउन सक्ने जोखिम तर्फ सबले सक्दो सजगता अपनाएर सुरक्षित स्थानमा बस्न उनले आग्रह समेत गरे ।
अविरल वर्षाले सूर्यविनायक नगरपालिका–८ पाटी भञ्ज्याङ नैचालमा एकै परिवार दुई जनाको मृत्यु भएको थियो ।