भक्तपुर । भक्तपुरको ऐतिहासिक भाजु पोखरी परिसरमा सरसफाइ कार्यक्रम गरिएको छ ।
मंगललबार भक्तपर नगरका जनप्रतिनिधि, कर्मचारी, वडाका स्थानीय, विद्यालयका प्रतिनिधिलगायतको सहभागितामा पोखरी परिसरमा सरसफाइ गरिएको हो ।
कार्यक्रममा वातावरण समितिका सदस्य एवं ८ नं. वडा अध्यक्ष कृष्ण प्रसाद कोजुले नगरपालिकाले पहिलेदेखि नै सफाई अभियान सुरु गरेको कारण हाल सफाइ नगरीको रुपमा परिचित भएको बताए ।

२ नं वडाका वडाअध्यक्ष हरि प्रसाद बासुकलाले भक्तपुरको इतिहास किसान आन्दोलन र सफाइ आन्दोलनसँग सम्बन्धित रहेको चर्चा गर्दै भक्तपुरमा सफाइ आन्दोलन स्वरुप निरन्तर रुपमा सफाइ कार्यक्रम नियमित गदै आएको बताए । यसमा सबैको हातेमालो हुन आवश्यक रहेको उनले बताए ।
३ नं वडाका वडाअध्यक्ष राजकृष्ण गोराले नगरपालिका साझा संस्था भएको बताउँदै जनताको सहयोग आवश्यक रहेको र नगरपालिकाका पुर्व जनप्रतिनिधिले नेतृत्वमा सरसफाई अभियान सुरु भएको चर्चा गरे । उनले स्वास्थ्यलाई मध्यनजर गर्दै सफाइ गर्दा लाज मान्न नहुने र आफ्नो ठाउँ आफैं सफा गर्नुपर्नेमा जोड दिए ।
४ नं वडाका वडाअध्यक्ष उपेन्द्र सुवालले सरसफाई सभ्यताको पहिचान रहेको बताउँदै नगरपालिकाभित्र २०३९ सालदेखि नै जनप्रतिनिधिको नेतृत्वमा सफाइ अभियान सुरु भएकोले यसलाई बिर्सन नहुनेमा जोड दिए ।
१० नं वडाका वडाअध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाले नगरपालिकाले एक विद्यालय एक सम्पदा र एक सहकारी एक सम्पदा सञ्चालन गर्दै आइरहेको र भक्तपुरलाई स्वच्छ बनाउने दायित्व सबैको रहेको बताउँदै यसलाई निरन्तरता दिनुपर्ने बताए ।