भक्तपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित १०८ रोपनी जग्गाको स्थलगत निरीक्षण गरेका छन् । मंगलबार उनले जग्गाको स्थलगत निरीक्षण गरेका हुन् ।
उनलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका थिए । भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय संचालनको लागि उक्त जग्गा माग गरे पछि त्यसको वस्तुस्थिति बुझ्न मन्त्री अधिकारी भक्तपुर आएका हुन् ।
सोही क्रममा मन्त्री अधिकारीले नेपाल ट्रष्टको स्वामित्वमा रहेका जग्गाहरु संरक्षणका क्रममा देशभर रहेका जग्गाहरुको खोजी कार्य गर्दै त्यसको संरक्षण कार्य सुरु गरिएको बताए । उनले भक्तपुर नगरले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणलगायतका क्षेत्रमा गरिरहेको कार्य प्रशंसनीय चएको बताए ।

विश्वविद्यालय सञ्चालनको लागि १०८ रोपनी जग्गा उपभोग गर्न दिने विषयमा आफू सकारात्मक रहेको पनि सो अवसरमा मन्त्री अधिकारीले बताए । निरीक्षणकै क्रममा उनले जग्गाको संरक्षण, सदुपयोग र व्यवस्थापनको विषयमा नेपाल ट्रष्ट र भक्तपुर नगरपालिकाबीच आपसी समन्वय, सहकार्य र छलफल गरी अगाडि बढ्न सकिने बताउँदै ट्रष्टको जग्गा अतिक्रमण हुनबाट रोक्न जरुरी रहेको बताए ।
जग्गा सदुपयोग गर्ने भन्नेबारे बृहत छलफल गरेर अगाडि बढ्न सकिने धारणा राख्दै ख्वप विश्वविद्यालय सञ्चालन स्वीकृतिको लागि सरकारले ढिलाइ गर्न नहुने धारणा राखे ।
भक्तपुर नगरपालिकामा भएको भेटपश्चात मन्त्री अधिकारीले नगरपालिकाबाट सञ्चालित ख्वप मावि, ख्वप कलेज, ख्वप कलेज अफ ल, ख्वप अस्पताल, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको पनि अवलोकन गरी त्यहाँको भौतिक अवस्थिति र शैक्षिक विशेषताहरुबारे जानकारी लिए ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनताको सुख, दुःखसँग सबैभन्दा नजिकको सरकार स्थानीय तहलाई अधिकार सम्पन्न बनाइनुपर्ने बताए । विश्वविद्यालय सञ्चालनको लागि आवश्यक भौतिक पूर्वाधारहरु निर्माणमा भक्तपुर नगरले जोड दिँदै आएको बताउँदै उनले भक्तपुर नगरपालिका विश्वविद्यालय सञ्चालन गर्न सक्षम रहेको स्पष्ट पारे ।
मन्त्री अधिकारीले भक्तपुर दरबार क्षेत्रस्थित सांस्कृतिक एवम् ऐतिहासिक महत्वका सम्पदाहरुको पनि अभिरुचिपूर्वक अवलोकन गरेका थिए ।
