काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन् ।
दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही असोज ४ गतेदेखि गर्न लागेको अमेरिका भ्रमणको जानकारी गराउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन अमेरिका जाँदैछन् ।

तर, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सदनको अवरोध जारी राख्ने निर्णय गरेको छ । माओवादी केन्द्रले हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटाएसम्म अवरोध जारी राख्ने अडान राखेपछि आइतबारको बैठक बस्दै नबसी स्थगित गरिएको थियो ।
माओवादी केन्द्रको सोमबार बसेको संसदीय दलको बैठकले सदनको अवरोध कायमै राख्ने निर्णय गरेकाले सोमबारको बैठक के हुने भन्ने अन्योल कायमै छ ।
यसैबीच, प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।
त्यस्तै, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची छ ।
यसैबीच, आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भदौ ३१ गते सोमबार राति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
