काठमाडौं । गौरा पर्व आज (सोमबार) सुदूरपश्चिममा विशेष उल्लासका साथ मनाइदैछ । भाद्र कृष्ण सप्तमीका दिन गौराघर र मन्दिरमा परम्परागत रूपमा गौरा भित्र्याई अष्टमीका दिन आँगन, मन्दिर परिसर र चौरमा भेला भई ‘गौरापूजन’ गर्ने चलन छ।
सत्य युगमा हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन सुरु गरिएको हो ।
भाद्र कृष्ण पञ्चमीका दिनदेखि आरम्भ हुने गौरा पर्व आज विशेष उत्सवका रुपमा मनाउन लागिएको हो । पहिलो दिन पञ्चमीका दिन घर–घरमा महिलाले तामाका भाँडामा बिरुडा अर्थात पाँच प्रकारको अन्न भिजाएर पर्वको थालनी गर्ने गरिन्छ । यो पर्वमा महेश्वरसहित दुबोको पूजा गरिन्छ । आज दुबोको पूजा गर्नाले दुबो जसरी सन्ताल फैलिन्छन् भन्ने जनविश्वास रहिआएको छ । सुदूरपश्चिमवासी देउडा गीत गाएर नृत्य गरी रमाइलोसमेत गर्ने गरिन्छ ।

गौरालाई सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन् । काठमाडौंमा पनि सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसको बसोबास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको छ ।