आज जनै पूर्णिमा मनाइँदै, आजै क्वाटी खाने परम्परा पनि

विविध समाचार

काठमाडौं । आज (सोमबार) श्रावण शुक्ल पूर्णिमा, हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व जनै पूर्णिमा अर्थात् ऋषितर्पणी धुमधामका साथ मनाइँदैछ । जनै पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट नयाँ जनै फेर्नुका साथै हातमा रक्षा–बन्धन बाँध्ने परम्परा छ ।

शासन सत्तामा रहेका वा राज्य सञ्चालनमा विशिष्ट भूमिका निर्वाह गरी उच्च प्रशासनिक कार्य गर्ने विशिष्ट व्यक्तिहरुले आज दिउँसो साढे १ बजेपछि मात्रै जनै फेर्नुपर्ने, डोरो बाँध्नुपर्ने र अन्यलाई साइत हेर्न नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

यस दिन तराईमा दिदीबहिनीले दाजुभाइको नाडीमा राँखी बाँधेर मनाउने गर्छन् । यस्तै, नेवारी समुदायमा क्‍वाँटी खाएर अर्थात् भ्यागुताको पूजा गरेर पर्व मनाउने प्रचलन छ ।

yakshakhabar.com

तागाधारी गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, बिचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमा दिन बिहानैदेखि मेला लाग्ने गर्दछ ।

सोमबार बिहान नुहाइ धुवाइपछि जौं, तील र कुशले ऋषिहरुलाई तर्पण गरी वैदिक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेर्ने गरिन्छ । ऋषिलाई तर्पण गर्ने भएकाले यस दिनलाई ऋषितर्पणी भन्ने गरिएको हो ।

नेवारी समुदायले भने श्रावण शुक्ल पूर्णिमालाई गुँपुन्ही भनी मनाउने गर्दछन् । जनै पूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

yakshakhabar.com

यस दिन नेवारी समुदायका मानिसले धुमधामका साथ भ्यागुताको पूजा गर्छन् । भ्यागुतालाई पानीको प्रतीकका रुपमा लिइने भएकाले यसको रक्षा गर्न जनैपूर्णिमाका दिन विशेष पूजा गरिँदै आएको हो । ताल, पोखरी, कुवा तथा पानीको तलाउमा भ्यागुता रहने र यसले पानीको बचाउ गर्छ भन्ने विश्वासका साथ यस दिन क्‍वाँटी दिएर पूजा गरिएको हो ।

यस पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *