सोलुखुम्बुको थामेमा २ हिमताल फुटेपछि बाढी आएको पुष्टि

समाचार

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा हिमताल फुटेर बाढी आएको पाइएको छ । शुक्रबार दिउँसो सोलुखुम्बुको थामे खोलामा बाढी आउँदा २० भन्दा बढी घरमा क्षति पुर्‍याएको थियो ।

शनिबार बिहान राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलसहितको टोलीले थामे क्षेत्रको हेलिकोप्टरबाट स्थलगत निरीक्षण गरेको थियो ।

हेलिकोप्टरबाट स्थलगत निरीक्षण गर्दा थामेभन्दा माथि रहेको २ वटा हिमताल फुटेर बाढी आएको देखिएको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिइन् ।

yakshakhabar.com

बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवातजावत ठप्प बनेको छ ।

थामे खोलामा आएको बाढीबाट थामे गाउँका २० वटा भौतिक संरचना बगेका छन् । घर र होटल गरि २० वटा संरचना, एक विद्यालय र एक क्लिनिकमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले जनाएको छ । बाढीमा ५५ वर्षीय निमानुरु टुडु शेर्पा हराइरहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, थामे गाउँका ९३ जना विस्थापित भएका छन् । उनीहरूलाई विद्यालय, छरछिमेकी र खुला ठाउँमा राखिएको छ ।

त्यस्तै, विद्यालयको छात्रवासमा बस्ने ३२ विद्यार्थी, आठ शिक्षक र दुई कर्मचारीलाई दुम्जेथामेमा रहेको सामुदायिक भवनमा सारिएको छ ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *