काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरन्टो नेसनलले ग्लोबल ट्वान्टी–२० क्यानाडाको उपाधि जितेको छ ।
आइतबार राति भएको फाइनल खेलमा टोरोन्टोले साविक विजेता मोन्ट्रियल टाइगर्सलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
९७ रनको सामान्य लक्ष्य टोरन्टोले १५ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो । टोरोन्टोका लागि एन्ड्रिज गौसले अविजित ५८ र भान डेर डुसानले ३० रनले बनाए ।
मोन्ट्रियलका लागि अजमतुल्लाह उमरजाई र कोर्बिन बोशले एकरएक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको टाइगर्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ९६ रन मात्र बनाएको थियो ।
टाइगर्सका कोर्बिन बोशले सर्वाधिक ३५, जसकरण सिंहले १६ र र अनुप रविले १० रन बनाए । अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
टोरन्टोका लागि जेसन बेहरेन्डोर्फले तीन, रोमारियो शेफर्डले दुई तथा जुनैद सिद्दिकी, मोहम्मद नवाज, निखिल दत्त र जतिन्द्रपाल मथारुले समान एक/एक विकेट लिए ।