काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आइतबार मनाइँदैछ ।
सबैभन्दा लामो जात्राको रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत ललितपुरको जावलाखेलमा भोटो देखाउन लागिएको हो । गृह मन्त्रालयले विज्ञप्ति जारी गरी आइतबार भोटो देखाउने जनाएको छ ।
राष्ट्राध्यक्षको उपस्थितिमा हरेक वर्ष ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने प्रचलन छ । दिउँसो देखाइने भोटोजात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसहित विशिष्ट ब्यक्तिहरु सहभागी हुने कार्यक्रम रहेको गुठी संस्थान ललितपुरले जनाएको छ ।
गुठी संस्थान ललितपुरका प्रतिनिधिले भोटो देखाउने चलन रहेको छ । विभिन्न मणी माणीक्य जडित कालो भोटोलाई रथको चारैतर्फबाट उपस्थित सबैले देख्ने गरी देखाउने परम्परा छ ।
रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटीचोकबाट जावलाखेल पुगेको चौथो दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ ।
यससँगै मछिन्द्रनाथलाई सानो खटमा राखी बुङमतीमा लगेपछि जात्रा समापन हुनेछ ।
ईस्वी संवत ६४० देखि ६८३ सम्म ललितपुरमा शासन गरेका राजा नरेन्द्र देवको पालादेखि यस जात्रा मनाईने गरिएको इतिहास छ । ललितपुरको पुलचोकमा ६० फुट अग्लो रथको निर्माण कार्य अगाडि बढेदेखि नै यस जात्राको रौनक सुरु हुन्छ ।
यसरी रथ निर्माण भएपश्चात बुंग द्यः को मन्दिरबाट मूर्ति ल्याएर रथमा राखिन्छ । त्यसपछि लगभग एक महिनासम्म भक्तजनहरुले त्यस रथलाई ललितपुरका चोकचौराहहरुमा लग्दछन् ।
पुल्चोकबाट सुरु भएको यस रथ तान्ने क्रम गाबाहल, मगंलबजार, हाखा, सुन्धारा, चक्रबाहल, लगनखेल हुँदै जावलाखेलमा गएर अन्त्य हुन्छ । यसरी दुबै रथहरु सबै ठाँउ पुगेर आईसकेर जावलाखेल मैदानमा राखिएपछि शुभसाईत हेरेर भोटोजात्राको मिति तय गरिन्छ ।
जात्राकै अवसरमा सरकारले उपत्यकाका तीन जिल्ला (ललितपुर, भक्तपुर र काठमाडौं) मा सार्वजनिक बिदा दिएको छ ।