काठमाडौं । प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व शुक्रबार नेवार समुदायले मनाउँदै छन् ।
चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार विशेषगरी नेवार समुदायले मनाउँछन् ।
परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झना स्वरूप यो चाड मनाइन्छ । यस पर्वमा घण्टाकर्ण राक्षसको पुत्ला बनाई जलाउनुका साथै भूत, प्रेत र पिशाच आदिलाई तन्त्रोक्त विधिले बिदा गर्ने गरिन्छ। यस दिन भूतप्रेतको पूजा गर्ने पनि गरिन्छ ।
गठामंगल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ । बेलुका घण्टाकर्णको पुत्ला घिसार्दै नजिकैको खोलामा लगेर जलाउने गरिन्छ । घण्टाकर्णलाई सेलाएपछि घरको दैलामा फलामको तीनखुट्टे वा पाँचखुट्टे किला ठोकी फलाम, पित्तल वा तामाका औँठी लगाउने चलन छ ।
यसैगरी शुक्रबार बिहानै स्नान, पूजापाठ गरी घर–आँगन सफा गरिने, केटाकेटीले बाटामा डोरी टाँगेर पैसा (जगात्) माग्ने र राति राँको बाली उक्त राक्षसको प्रतीक घिसार्दै जलाउने चलन छ । गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ । यस्तो परम्परा अहिले पनि काठमाडौं, ललितपुर र भक्तपुरका भित्री भागमा छ ।
यस दिनबाट औपचारिक रूपमा उपत्यकामा जात्राको सुरुवात भएको मानिन्छ । यो चतुर्दशीलाई धातु दिनको रूपमा पनि लिइन्छ । यो दिन बाटा–बाटामा राक्षस या प्रेत आत्माका लागि भनी पात या बोहोता, दुना टपरीमा पाकेका भात अनि खानेकुरा राखिन्छ । मुख्यतया दोबाटामा यस्ता खानेकुरा राखिन्छ । यस्ता खानेकुरा राख्नाले र पूजा अर्चना गर्नाले भूतप्रेत, पिशाच लगायत हावा, आगो अनि विभिन्न तन्त्र मन्त्रको साध्यबाट समेत जोगिन्छ विश्वास गरिन्छ ।
गठेमङ्गलमा घण्टाकर्ण भन्ने भीमकाय राक्षसको मृत्युलाई पनि सम्झना गरिन्छ । उक्त राक्षसको मृत्युपछि धेरै जना त्रास र भयबाट मुक्त भएको सम्झना गरिन्छ । घण्टाकर्णलाई सनातन धर्ममा भने भगवान् शिवका उद्दण्ड भक्तका रूपमा लिइन्छ भने बौद्ध धर्ममा भैरवको दूतका रूपमा पनि लिइन्छ ।