काठमाडौं । नेकपा (एमाले) मा व्यापक मनोनयनदेखि जिम्मेवारी हेरफेरसम्मका निर्णय भएका छन् । बिहीबार बसेको एमाले सचिवालय बैठकले गुरु बराललाई उपाध्यक्ष पदमा मनोनयन गरे गर्ने निर्णय गरेको छ । महासचिव शंकर पोखरेलका अनुसार रिक्त उपाध्यक्ष पदमा बराललाई मनोनीत गर्ने निर्णय भएको हो । उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि सो पद रिक्त रहेको थियो ।
यसैगरी, बैठकले प्रदेश इन्चार्जहरु समेत हेरफेर गरेको छ । सचिवद्वय पद्मा अर्याल र लेखराज भट्ट बाहेक अरु प्रदेश इन्चार्ज फेरिएका छन् अर्याल लुम्बिनी र भट्ट सुदूरपश्चिम प्रदेश इन्चार्ज रहेका छन् । कोशीको इन्चार्जमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई र कर्णालीमा गोरखबहादुर बोगटी प्रदेश इन्चार्ज तोकिएको छ ।
यसअघि कोशीमा रघुवीर महासेठ, मधेशमा योगेश भट्टराई, बागमतीमा गुरुप्रसाद बराल र गण्डकीमा गोकर्ण विष्ट इन्चार्ज थिए । बराल बढुवा भएर उपाध्यक्ष मनोनित भएकाले इन्चार्जको जिम्मेवारीबाट हटेका थिए ।
यस्तै मधेशको इन्चार्जमा दाबी गरेका सचिव रघुवीर महासेठलाई अन्तराष्ट्रिय विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । यसअघि यो विभागको प्रमुख रहेका राजन भट्टराईलाई भने बागमतीमा इन्चार्ज बनाइएको छ ।
बैठकले मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनीत गर्ने निर्णय गरेको हो । श्रेष्ठ हाल पार्टीको मधेस प्रदेशका पोलिटब्युरो सदस्य रहेकामा एमालेले स्थायी कमिटी सदस्य बनाएको हो । न्यौपाने केही अघि नेकपा एकीकृत समाजवादी परित्याग गरेर एमालेमै फर्किएका थिए ।
यसैगरी मायानाथ अधिकारी अनुशासन आयोगको सदस्यमा मनोनीत भएका छन् । एमालेले सल्लाहकार परिषद् सदस्यमा पनि नेताहरूलाई मनोनयन गरेको छ । जसमा कुलानन्द गिरी, महेन्द्र थापा, पिएल श्रेष्ठ, शिवचन्द्र कुशहवा, रामप्रित पासवान, एकवाल मियाँ, डा. गोपाल खनाल, खालित हुसेन हक मनोनीत भएका छन् । यस्तै, हरि रिजाल, प्रेमबहादुर सिंह, कृष्णप्रसाद दाहाल, बिनु ढकाल, सानु श्रेष्ठ, सिर्जना शर्मा, प्रदीप भण्डारी, अर्जुनबहादुर थापा, श्याम ढकाल, नारायण मरासिनी, धनेन्द्र घिमिरे, नन्दलाल रोकाया, जनक पौडेल, मेघनाथ सुवेदी, नारायण मलासी, सुवासचन्द्र ठकुरी पनि मनोनीत भएका छन् ।
यस्तै शान्तकुमार ओली, विना ज्ञवाली, हरि पोखरेल, कवीन्द्र शेखर रिमाल, सर्वध्वाज सावा लिम्बु, गणेशसिंह धामी, नन्द केशर ढकाल, लक्ष्मी प्रसाद जोशी, रामहरी सुवेदी, सरस्वती बाटीलगायतलाई परिषद् सदस्यमा मनोनीत गरिएको छ ।