काठमाडौं । आज साउनको पहिलो सोमबार । देवाधिदेव महादेवको पूजा आराधनासहित व्रत बसेका भक्तजनहरूले शिवको विशेष पूजा आराधना गरेका छन् । बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।
काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर, आशापुरेश्वर, नन्दीकेश्वर, दत्तात्रेय, काभ्रेको धनेश्वर, सिन्धुलीको कुशेश्वर, सिन्धुपाल्चोकको फटकेश्वर लगायत शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा महिलाहरुले विशेषगरी हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने चलन रहदै आएको छ । उक्त कार्य गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।
