काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्ती शनिबार मनाइँदैछ । यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले विभिन्न कार्यक्रम गरी भानुजयन्ती मनाउँदै छन् ।
वि.सं.१८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका भानुभक्तले ‘अध्यात्म रामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको विजारोपण गरेको मानिन्छ ।
आदिकवि आचार्य नेपाली साहित्य विकासको प्रथमकालका पथप्रदर्शक कवि हुन । उनले नै नेपाली साहित्य लेखनको श्री गणेशायनमः गरेका थिए । प्रश्नोत्तरी–१९१०, भक्तिमाला–१९१०, बधुशिक्षा–१९१९ लगायतका कृतिहरु लेखेर नेपाली साहित्यको जग बसालेका हुन ।
भानुभक्तलाई घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ति उपदेश दिएकाले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएको मानिन्छ । ‘बधुशिक्षा’ उनको अर्को कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । राष्ट्रिय पहिचान, एकता र नेपाली सांस्कृतिक चेतना जगाउन भानुभक्तको योगदान रहेको छ ।
यस अवसरमा शनिबार बिहान काठमाडौंको रानीपोखरीअगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र प्रभातफेरी गरिएको छ ।
उनको निधन वि.सं. १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भूटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाइन्छ ।