काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ । बैठक संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ ।
बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
यस्तै, बैठकमा प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले प्रतिनिधि सभामा उत्पत्ति भएको विनियोजन विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउनेछन् ।
पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन पेस गर्नेछन् । त्यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औं वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।