भक्तपुर । भक्तपुरको गठ्ठाघरस्थित आस्था महिला विद्यालयमा आयोजना गरिएको एक दिने निः शुल्क स्वास्थ्य शिविरमा २२५ जना लाभाविन्त भएका छन् ।
शुक्रबार आस्था महिला विद्यालय, नागरिक सामुदायिक अस्पताल, लायन्स क्लब अफ भक्तपुर नागरिक र लायन्स क्लब अफ भक्तपुर निलकण्ठेश्वरको आयोजनामा शिविर सम्पन्न भएको हो ।
उक्त शिविरमा २२५ जनाले स्वास्थ्य परीक्षण गराएका विद्यालयकी प्रधानाध्यापक बिना देउजाले जानकारी दिइन् ।
शिविरमा पाठेघरको मुखको क्यान्सरको चेकजाँच, रोकथाम तथा स्त्रीरोग सम्बन्धी सम्पूर्ण परामर्श तथा उपचार सेवा निःशुल्क प्रदान गरिएको थियो । त्यस्तै, शिविरमा निःशुल्क आँखा जाँच र सुगर परीक्षणसमेत गरिएको उनले बताइन् ।
उक्त शिविरमा निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । ईसीजी, ईको, यूएसजी, एक्सरे लगायतका सेवामा भने २० प्रतिशत छुट दिइएको उनले बताइन् ।
शिविरमा बृहत् रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो ।