काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबारबाट मेलम्चीको खानेपानी वितरण बन्द भएको छ ।
वर्षाका कारण मेलम्ची नदीमा पानी धमिलिँदै गएपछि मेलम्चीको खानेपानी वितरण बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएको छ ।
वर्षामा मेलम्ची नदी बढेर पुनः क्षति निम्त्याउन सक्ने जोखिम टार्न समितिले काठमाडौं ल्याउने पानी बन्द गर्ने नीति लिएको हो ।
०७८ असारमा मेलम्ची नदीमा आएको बाढीले खानेपानी आयोजनाको हेडवर्क्सलगायत संरचना बगाएपछि पुनः पानी ल्याउन ठूलो कष्ट झेल्नुपरेको थियो । त्यस्तो, क्षति दोहोरिन नदिन मेलम्ची नदीको पानी धमिलिन थालेसँगै उपत्यका ल्याउने पानी बन्द गर्न लागिएको समितिले जनाएको छ ।
आयोजना सुरु भएको २२ वर्षपछि ०७७ चैत १५ गतेबाट मेलम्चीको पानी उपत्यकाका धारामा वितरण थालिएको थियो । तर, ०७८ असार १ र साउन १५ गते मेलम्चीमा आएको बाढीले हेडवर्क्स र सुरुङमा क्षति पुर्याएको थियो । त्यस्तै, ०७९ साउन २७ र २८ गते आएको बाढीले आयोजनाको हेडवर्क्स बगाएपछि अस्थायी रूपमा समेत पानी ल्याउन सकस भएको थियो । उक्त संरचना पुनर्निर्माण गरेर २०८० जेठ २२ गते पानी पुनः काठमाडौं झारिएको थियो ।